हेटौँडा/ हेटौँडामा आयोजित प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगितामा बुद्ध मावि, हेटौँडा-१२ हात्तिगौँडाले पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा बुद्ध माविले प्रस्तुत गरेको ‘अप्सरा’ नामक नाटकले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेको हो।
सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा विजेता बनेसँगै बुद्ध माविले नगद रु. १५,०००/- पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा विभिन्न विद्यालय तथा संस्थाका नाटक समूहहरूले सामाजिक विषयवस्तुमा आधारित सिर्जनशील नाटकहरू प्रस्तुत गरेका थिए। हेटौँडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजनामा तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा सम्पन्न भएको यो प्रतियोगिताले सामाजिक चेतनाको प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकले बताएका छन्।

















