पर्खाल चित्रकलाले झल्काउदै हेटौंडाका पर्यटकीय गन्तव्यहरू

Image

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका सुन्दर र आकर्षक बनाउन सुरु गरिएको पर्खाल चित्रकला अभियानले स्थानीय कला र पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्ने प्रयास गरिरहेको छ। पुर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० सडक छेउमा रहेको नेपाल ट्रष्टको पर्खालमा विभिन्न चित्रकलाहरू बनाइँदै छन्।

उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन र पर्यटकहरूको ध्यान आकर्षित गर्न यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। नगर प्रमुख मीनाकुमारी लामा स्वयं चित्रकलाहरूको अवलोकन गर्दै सुधारका लागि सुझाव समेत दिनुभयो।

पहिलो चरणमा १७ सय स्क्वार क्षेत्रफलमा १५ वटा चित्रहरू बनाउने योजना रहेको छ। नगरको खरिद समितिमार्फत उपमहानगरका विभिन्न वडामा रहेका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई चित्रकलाको माध्यमबाट पर्खालमा उतार्ने काम भइरहेको छ।

चित्र निर्माण कार्यको लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँमा ठेक्का लगाएर काम सुरु गरेको हो। यो अभियानले स्थानीय कला तथा संस्कृतिलाई प्रोत्साहन गर्ने र पर्यटक आकर्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

योजनाको आगामी चरणमा अन्य वडाहरूमा रहेका पर्यटकीय गन्तव्यहरूलाई पनि चित्रकलाको माध्यमबाट उजागर गर्ने योजना रहेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले बताउनुभयो।