चन्द्रागिरि हिल्समा अनधिकृत शुल्क असुली रोकियो

Image

हेटौंडा/ थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चन्द्रागिरि हिल्स प्रालिले राखेको चेकपोइन्टबाट प्रत्येक पैदलयात्रिबाट १०० रुपियाँ शुल्क असुली गरिरहेको थियो। यस विषयमा थाहा नगरपालिका कार्यालयले सोमबार चन्द्रागिरि हिल्सलाई उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

वडाध्यक्ष राजकुमार बलामीले जनगुनासो प्राप्त भएपछि यो कदम चालिएको बताउनु भएको छ। उहाँले चन्द्रागिरि हिल्सले शुल्क असुली गरेको विषयमा नगरपालिका र वडाध्यक्षको कुनै सहमति नभएको स्पष्ट पारेका छन्। उपप्रमुख भरत गोपालीले पनि नागरिकसँग अनधिकृत शुल्क असुली गरेकोमा आपत्ति जनाएका छन्।

यसअघि थाहा नगरपालिका र चन्द्रागिरि हिल्सबीच सडक मर्मत र सरसफाइका लागि शुल्क असुली गर्ने सम्झौता भएको भए पनि हाल उक्त रकम असुली गर्ने कार्यलाई रोक्न निर्देशन दिइएको छ। कम्पनीले स्थानीय नागरिकका लागि २५ प्रतिशत छुट दिने सहमति पनि गरेको छ।

वडाध्यक्ष बलामीले यसअघि कम्पनीलाई शुल्क असुली रोक्न दबाब दिएका थिए। कम्पनीले प्रतिबद्धता जनाउँदै अनधिकृत शुल्क असुली रोक्ने घोषणा गरेको छ।