हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ। समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार गाउँपालिकाले चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालका अनुसार, चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेटमध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ मात्र १३.९८ प्रतिशत खर्च भएको छ।
प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारतर्फ ४०.६२ प्रतिशत रकम खर्च भएको छ। वडागत आम्दानीअन्तर्गत १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजस्व संकलन भएको छ भने प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख विक्रम थिङले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले प्रगति विवरण प्रस्तुत गर्नुका साथै समस्या र चुनौतिहरूबारे आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए। योजना तथा अनुगमन शाखा प्रमुख नरेन्द्र दत्त भट्टका अनुसार, गाउँपालिकाका कुल १३८ योजना मध्ये केही वडाले सतप्रतिशत योजना सम्झौता गरेका छन् भने केही वडाले योजना सम्झौता गर्न बाँकी रहेको छ।
शिक्षा, कृषि तथा स्वास्थ्य क्षेत्रका गतिविधि
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीका अनुसार, संघीयतर्फ ४३.७४ प्रतिशत, प्रदेशतर्फ ५३.८४ प्रतिशत र स्थानीय स्रोततर्फ ४५.७७ प्रतिशत वित्तीय प्रगति भएको छ।
कृषि तथा पशु विकास शाखा प्रमुख राहुल सेञ्चुरीले संघीय कार्यक्रमअन्तर्गत एक हजार ४८ जना किसानलाई किसान सूचिकरण कार्यक्रममा समावेश गरिएको जानकारी दिए। बेमौसमी खेती, फलफूल खेती, मौरीपालन, कृषक समूह बैठक, तरकारी प्रवर्द्धन, अर्गानिक खेती र गोठखोर सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
स्वास्थ्य शाखाले औषधि खरिद तथा वितरण, विपन्न नागरिक सहयोग कार्यक्रम र सुत्केरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गरायो।
महिला, बालबालिका तथा सामाजिक कार्यक्रमहरू
महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले चेली प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिकसँग जनप्रतिनिधि भेटघाट, आमाबुबाविहीन बालबालिका संरक्षण, घरेलु हिंसा तथा किशोरी कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो। न्यायिक समितिमा ज्याला मजदुरी, झगडा, छरछिमेकीको साँध लगायतका मुद्दाहरू दर्ता भइरहेका छन्। मेलमिलापकर्तालाई पुनर्ताजगी तालिमसमेत दिइएको छ।
प्रमुख व्यक्तिहरूका धारणा
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले योजनाहरू कार्यान्वयन गर्न कानून निर्माण आवश्यक रहेकोमा जोड दिए। उनले कर्मचारीले पालिकाले तय गरेको निर्देशनअनुसार नियम पालना गर्नुपर्ने र समयसीमाभित्र कार्यसम्पादन गर्दा संघीय र प्रदेशबाट प्राप्त हुने अनुदान वृद्धि हुने बताउनुभयो।
उपाध्यक्ष बालकुमार मल्लले सम्बन्धित शाखाले योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने र समस्या समाधानका लागि आवश्यक छलफल गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरू तथा अन्य कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

















