हेटौंडा / मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पूर्वाधार निर्माणबाट मात्र मुलुकले समृद्धि प्राप्त गर्न सक्ने बताउनुभएको छ। निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडामा बिहीबार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम र सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले निर्माण व्यवसायी संघसँग निर्माण व्यवसायीका समस्या समाधानका सवालमा सहकार्य र समन्वय गर्न स्थानीय प्रशासन तयार रहेको बताउनुभयो। साथै, हतारमा ठेक्काको काम लिने र विभिन्न समस्या देखाएर काममा ढिलाई गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो।
प्रजिअ श्रेष्ठले कतिपय निर्माण व्यवसायीले समयमा जिम्मा पूरा नगरेको र सरकारले पनि समयमा भुक्तानी दिन नसकेको उल्लेख गर्नुभयो। दुबै पक्षबाट समस्या रहेको भन्दै उहाँले आफ्नो स्तरबाट समस्या समाधान गर्ने र माथिल्लो निकायमा समन्वय र सहजीकरण गर्ने बताउनुभयो।
उहाँले निर्माण व्यवसायीले धेरै कममा ठेक्का सम्झौता गर्दा र समयमा काम सम्पन्न नहुँदा समस्या आएकोले विश्वास जितेर काम गर्न र संघलाई निर्माण व्यवसायीको क्षमता विकासमा ध्यान दिन सुझाव दिनुभएको थियो।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले उपभोक्ता समितिबाट भन्दा निर्माण व्यवसायीबाट हुने काममा अनुगमन गर्न सजिलो हुने बताउनुभयो। साथै, निर्माण व्यवसायीका समस्या छलफल र समन्वयबाट समाधान गर्न तयार रहेको धारणा राख्नुभयो।
संघका अध्यक्ष बाल गोपाल कंडेलले प्रमुख अतिथिहरूलाई स्वागत तथा सम्मान गर्दै निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनेलगायतका समस्याहरूबारे ध्यानाकर्षण गराउनुभयो।
संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल र महासचिव राजेन्द्रप्रसाद चौलागाईले फलामे रड, सिमेण्टलगायतका निर्माण सामग्रीको अस्वाभाविक मूल्य वृद्धिमा आपत्ति जनाउँदै मूल्य वृद्धि नियन्त्रणमा सरकारको ध्यान नगएको टिप्पणी गर्नुभयो।
उहाँहरूले उपभोक्ता समितिमार्फत काम गराउँदा राज्यले कर गुमाउनुका साथै गुणस्तरमा समस्या आएको समेत बताउनुभयो।

















