हेटौंडा/ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन र सम्बृद्धिको बहस प्राथमिकता हुनुपर्ने बेला केही थान राजावादीहरूको रहरमा राजतन्त्रको औचित्यहीन बहस गर्न खोजिएकोमा कडा आपत्ति जनाएका छन्। उनले मुलुकको वर्तमान समस्या र आवश्यकताबाट बाहिर रहेको यस्तो बहसले समयको बर्बादी मात्र गर्ने जिकिर गरेका छन्।
नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गौतमले भने, “आज सतहमा देखिएका भ्रष्ट्राचार, विकृति र विसंगतिलाई औंल्याएर केही तत्वहरूले राजतन्त्रलाई विकल्पको रूपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन्। तर, हामीले राजतन्त्रमा अझ कुरुप अवस्था भोगिसकेका छौं।” उनले मुलुकलाई अगाडि बढाउन सुशासन र सम्बृद्धिका लागि गहन बहसको खाँचो रहेको बताए।
पूर्व राजाले अवान्छित गतिविधि बढाएमा लाखौं युवा सडकमा प्रतिवाद गर्न निस्कने र त्यसबेला देश छोड्नुपर्ने अवस्था आउने चेतावनी उनले दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अमरबहादुर बिकले, “हिजो जनयुद्धको अग्र मोर्चा सम्हालेका दलितहरूले विभेदको प्रतीकका रूपमा फालेको राजतन्त्रलाई अहिले पुनः स्थापित गर्न खोज्नु नयॉं पुस्ताप्रति अन्याय हो।” उनले नयाँ पुस्तालाई इतिहासको वास्तविकता बुझाउन आवश्यक रहेको बताए।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले हजारौंको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र केही राजावादीहरूको रहरले फिर्ता नहुने बताउँदै अनावश्यक दुस्साहस नगर्न आग्रह गरे।
बैठकमा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपमहासचिव गणेश विकले वैचारिक प्रशिक्षण दिएका थिए। साथै, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक र जिल्ला अध्यक्ष जमिन दियालीले पनि बैठकलाई सम्बोधन गरेका थिए।

















