हेटौंडा / मकवानपुरको स्थानीय पत्रकारिता कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको छ। स्वतन्त्र पत्रकार संघ मकवानपुरले बिहीबार ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता – चुनौती, अवसर र तयारी’ विषयक प्यानल छलफल आयोजना गरेको थियो, जसमा स्थानीय सञ्चारमाध्यमका समसामयिक विषयहरूबारे व्यापक विमर्श गरियो।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा युवा पत्रकार जमुना थिङले आफ्नो धारणा राख्नुभएको थियो। छलफलको सहजीकरण स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीले गर्नु भएको थियो भने अग्रज पत्रकार राममणी दाहालले विश्लेषकको भूमिका निर्वाह गर्नुभएको थियो।
वरिष्ठ पत्रकार प्रताप विष्टले स्थानीय पत्रकारिताको विश्वसनीयता कायम राख्न गुणस्तरीय सामग्री आवश्यक रहेको बताउनुभयो। उहाले सामाजिक सञ्जालको प्रभावले सूचनाको प्रवाह सहज भए पनि अनियन्त्रित समाचार प्रवाहले पत्रकारिताको विश्वसनीयता चुनौतीमा परेको उल्लेख गर्नुभयो।
बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले स्थानीय मिडियाले अनलाइन माध्यमलाई उपयोग गर्दै समाचारको गहिराइ बढाउनुपर्ने सुझाव दिनुभयो। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको रक्षा गर्दै अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
युवा पत्रकार जमुना थिङले डिजिटल माध्यमको प्रभावबारे चर्चा गर्दै स्थानीय पत्रकारहरूले नयाँ प्रविधिहरूको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो। अग्रज पत्रकार राममणी दाहालले तथ्यपरक र जिम्मेवार पत्रकारिता नै दिगो हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संचारकर्मी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक व्यक्तित्व, उद्योगी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे अनुरागले आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता जनाउनुभयो।

















