हेटौंडा/ नेकपा एमाले मकवानपुरले लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्ने भएको छ।
एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरूको सहभागितामा गणतन्त्रको पक्षमा जनचेतना फैलाउने उद्देश्यले जागरणसभा आयोजना गर्न लागिएको हो। जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ।
सभाअघि हेटौंडाको चार स्थानबाट विशाल र्याली निकालिने भएको छ। पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रिबाट बिहान १० बजे र्याली सुरु भई बुद्धचोकमा पुगेर सभामा परिणत हुने अध्यक्ष पोख्रेलले जानकारी दिए।
उनका अनुसार यो जागरणसभा प्रतिगामी षड्यन्त्र, पुनरुत्थानवादी प्रवृत्ति र अराजक तत्वहरूविरुद्ध सशक्त सन्देश दिन केन्द्रित हुनेछ। एमाले मकवानपुरले सभाको तयारी तीव्र पार्दै नेता, कार्यकर्ता तथा आम नागरिकलाई सहभागी गराउन व्यापक अभियान सञ्चालन गरिरहेको उनले बताएका छन् ।