मदन आश्रीत स्मृति कप–२०८१” फुटबल प्रतियोगिता हुने

Image

हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल, बागमती गाउँ कमिटी मकवानपुरको आयोजनामा “मदन आश्रीत स्मृति कप–२०८१” फुटबल प्रतियोगिता सुरु भएको छ। यहि चैत २० गतेदेखि २५ गतेसम्म  जनता माध्यमिक विद्यालय, बागमती-८, शान्तिपुरको चौरमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिता खेलप्रेमी युवाहरूको आकर्षणलाई मध्यनजर गरी सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ। यस प्रतियोगिताबाट युवा खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। विशेष गरी बागमती गाउँपालिकामा आयोजना गरिएको ७ औं गोल्डकपमा स्थान नपाएका तथा प्रतिभावान खेलाडीहरूलाई अवसर दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको छ भने विजेतालाई शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान हासिल गर्ने टिमले नगद रु. ५०,०००/- प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. २५,०००/- प्राप्त गर्नेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु. ३,०००/-, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट डिफेन्डरलाई जनही रु. २,०००/- प्रदान गरिनेछ। प्रत्येक खेलको “म्यान अफ द म्याच” लाई रु. ५००/- पुरस्कार स्वरूप दिइनेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय युवा संघ नेपालका जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरू, खेल प्रेमी दर्शकहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहने  आयोजकले जनाएको छ। आयोजक समितिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
प्रतियोगिता चैत २५ गते फाइनल खेलसहित समापन हुने आयोजकले जानकारी गराएको छ।