मकवानपुरगढीमा चितुवा र बाघको गतिविधि बढ्दा स्थानीय त्रसित

Image

हेटौंडा /  मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ मा पछिल्ला केही दिनदेखि चितुवा र बाघको गतिविधि देखिएको छ। वन्यजन्तुको बढ्दो उपस्थितिले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

केही दिनअघि मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा चितुवाले एक कुकुरलाई आक्रमण गरी मारेको र अर्को कुकुर घाइते अवस्थामा फेला परेको थियो। त्यस्तै, गोठमा बाँधिएको गाईको बाछोलाई समेत आक्रमण गरी मारेको स्थानियले बताएका छन्। पशुचौपायामाथि बारम्बार आक्रमण भएपछि स्थानीयहरू त्रासमा रहेका छन्।

यसैबीच, मकवानपुरगढी सब-डिभिजन वन कार्यालयले आधिकारिक फेसबुकमार्फत सूचना जारी गर्दै चितुवा तथा बाघको गतिविधि बढेको जनाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। विशेष गरी बिहान र बेलुका एक्लै हिँडडुल नगर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

वन्यजन्तु संरक्षण तथा स्थानीय सुरक्षाका लागि सम्बन्धित निकायहरूले आवश्यक कदम चाल्ने तयारी गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै वन कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।