पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न नेपाल पत्रकार महासंघको माग

Image

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि प्रसाद हुमागाईं र मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारीले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु भएको छ। मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृहमाथिको आक्रमण निन्दनीय रहेको बताउँदै दोषीमाथि आवश्यक कारबाही हुने प्रतिबद्धता जनाउनुभएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि प्राप्त ज्ञापनपत्र गृहमन्त्रालयमा पठाउने र दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्ने बताउनुभयो।

महासंघले सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह र सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। काठमाडौंको तीनकुनेमा चैत १६ गते भएको हिंसात्मक प्रदर्शनमा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले बागमती प्रदेशका मुख्यमन्त्रीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको हो।
सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको भन्दै महासंघले आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिने सुनिश्चित गर्न सुरक्षा प्रवन्ध मिलाउन जोडदार माग गरेको छ।