हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा, सामाजिक विभेद तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
प्रतिष्ठानकी अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष मुक्तानले परिवार, समुदाय र समाजमा हुने विभिन्न प्रकारका हिंसाबारे जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाले हिंसापछि उपलब्ध कानूनी उपचारका उपायबारे प्रशिक्षणबाट स्पष्ट पारिने उल्लेख गर्नुभयो।
उहाका अनुसार वडा तहमा मेलमिलापकर्ता र गाउँपालिकामा न्यायिक समिति रहेको हुँदा कानूनी उपचारका लागि ती संयन्त्रहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने छ। उहाले हिंसाका घटनाहरूमा कानूनी बाटो पहिल्याउन स्थानीय तहका प्रतिनिधिहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, प्रशिक्षक अधिवक्ता पम्फा पुरी, शान्तिश्रृजना आधारभूत विद्यालयका अध्यक्ष कमल अर्याल, विद्यालयका प्रअ मोहनलाल शिवाकोटी, देवी प्राविका अध्यक्ष जनक लोप्चन लगायतको उपस्थिति थियो। कार्यक्रममा किशोरी र महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

















