हेटौंडा/ लामो समयको सुख्खा मौसमपछि हेटौंडा र वरपरका क्षेत्रमा वर्षा भएको छ। आज राति देखि लगातार पानी परिरहेको छ, जसले स्थानीय बासिन्दालाई राहत दिएको छ।
वर्षासँगै हेटौंडाको वायु प्रदूषणमा कमी आउने अपेक्षा गरिएको छ। प्रदूषणका कारण बिभिन्न समस्या भोगिरहेका नागरिकले वर्षाका कारण केही हदसम्म सहजता महसुस गर्नेछन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा पनि वर्षा भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको प्रणाली तुलनात्मक रूपमा कमजोर रहेको बताइएको छ।
“उच्च पहाडी र हिमाली जिल्लाहरूमा वर्षाको सम्भावना भए पनि सुदूरपश्चिमको तराई क्षेत्रमा वर्षाको सम्भावना कम छ,” मौसमविद् झाले बताउनुभयो।
वर्षाले कृषकहरूलाई समेत राहत पुर्याउने अपेक्षा गरिएको छ भने वातावरणीय दृष्टिले पनि यो सकारात्मक संकेत मानिएको छ।