हेटौंडा/ धरान–धनकुटा भ्रमणबाट फर्कने क्रममा हेटौंडा को चित्रेपानीमा भएको बस दुर्घटनामा सामान्य घाइते भएका भीमफेदी गाउँपालिकाका पशु प्राविधिक विमल ढुंगानाको मृत शरीर हेटौंडाको एक वडासदस्यको घरमा झुण्डिएको अवस्थामा फेला परेको छ।
विमल, जो पालिकाको भ्रमण टोलीका लागि सवारीको व्यवस्थापन जिम्मेवारीमा थिए, आफैंले रिजर्भ गरेको बस दुर्घटनामा परेपछि गहिरो मानसिक तनावमा देखिएका थिए। उनी सवारी मालिक समेत रहेको खुलेपछि घटना झनै गम्भीर मोडमा पुगेको छ।
सवारी मात्र होइन, जिम्मेवारीको भार
पशु शाखा प्रमुखले सवारीको जिम्मा सुम्पिएपछि विमलले बस रिजर्भ गरे। सामान्य घाइते भएर पनि साथीहरूको उपचार, बसको क्षति र भविष्यका असरबारे चिन्तित विमल सायद मानसिक रुपमा आफैँलाई दोषी ठानिरहेका थिए।
मनको बोझले जित्यो शरीरलाई
अस्पतालबाट डिस्चार्ज भई साथीहरूसँग जान इन्कार गरेका उनी हेटौंडा ११ नवलपुरमा भीमफेदी गाउँपालिका ९ नम्बर वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए । बिहान अबेरसम्म पनि नउठेपछि खोज्दा उनी झुण्डिएको अवस्थामा फेला परे। प्रहरी अनुसन्धानअनुसार टाई, खादा र चुँडिएको पेटी प्रयोग गरी उनले पासो लगाएका थिए।
‘म बस मालिक हुँ’ भन्ने सत्य लुकाउँदै…
घटनापछि मात्रै थाहा भयो—दुर्घटनामा परेको बस विमलकै थियो। साथीहरूका अनुसार, उनले भ्रमणभरि यो कुरा लुकाए। शायद जिम्मेवारीको भय, सम्भावित कारबाही, वा घाइतेको पीडाले उनलाई मानसिक रुपमा तोडेको थियो।
विमल सोही दुर्घटनाकै कारण आत्महत्या गर्ने स्थितिमा पुगेको हुन सक्ने आफन्तहरूले अनुमान गरेका छन् । आफ्नै सवारी क्षति भयो । घाइतेहरूको उपचार गराउनुपर्ने मृत्यु भयो भने के गर्ने भन्ने चिन्ता सहन नसकेको कारणले आत्महत्या गरेको हुनसक्ने हेटौँडा अस्पतालमा पोस्टमार्टम रिपोर्ट कुरेर बसिरहेका छिमेकीहरू बताउँछन् ।
परिवारको आस्थामा चोट
अविवाहित, आफ्ना वृद्ध बाबुआमाको सहारा बनेका विमलको यस्तो अन्त्यले परिवार र छिमेकीलाई शोकमा डुबाएको छ। सवारी साधनसँगै उनले जीवनका सपनाहरू पनि गुमाए।
मनोपरामर्श र संस्थागत सहयोगको अभाव
यो घटना केवल दुर्घटनाको शोक मात्र होइन, सरकारी कर्मचारीहरूको मानसिक स्वास्थ्यप्रति रहेको उपेक्षाको प्रतिबिम्ब पनि हो। यदि उनलाई आवश्यक मानसिक समर्थन मिलेको भए, सायद आजको यो दिन आउँदैनथ्यो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

















