हेटौंडा/ कैलाश गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिततासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा कार्यालय प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, वडास्तरका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख मिजारले कार्यपत्र प्रस्तुत गर्दै मातृत्व स्वास्थ्यको वर्तमान अवस्था, नीति–नियम, संस्थागत सुत्केरी सेवा, गर्भजाँचको अवस्था र चालु कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी दिए।
उनका अनुसार कैलाश गाउँपालिकामा गत वर्ष गर्भजाँचको दर १०८.५७ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत मात्र रहेको छ। १२ हप्ताभित्रको गर्भजाँच गत वर्ष ९९.२२ प्रतिशत भए पनि चालु वर्षमा ६०.८६ प्रतिशतमा झरेको उनले बताए। स्वास्थ्य संस्थामा सुत्केरी गराउने दरमा पनि गिरावट आएको देखिएको छ – गत वर्ष ४९.९ प्रतिशत रहेकामा चालु वर्षको फागुन मसान्तसम्म ४२.७४ प्रतिशत मात्र रहेको जनाइएको छ।
कैलाशमा होमडेलिभरीको संख्या बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै मिजारले जिल्लाभर १०४ जना महिलाले घरमै सुत्केरी गरिरहँदा त्यसमध्ये ४४ जना कैलाश गाउँपालिकाका रहेको बताए। सुत्केरीपछिको जाँच दर ४७.८७ प्रतिशतमा सीमित रहेकोले यसलाई वृद्धि गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रहसमेत गरे।
गाउँपालिका अध्यक्ष मुक्तानले स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभ्यास बढाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भौगोलिक चुनौती र शिक्षाको कमीका कारण होमडेलिभरीको संख्या बढेको भन्दै दीगो विकास लक्ष्य २०३० अनुरूप स्वास्थ्य तथा शिक्षा सूचक सुधार गर्न गाउँपालिका क्रियाशील रहेको बताए।
स्वास्थ्यसँग जोडिएको सरसफाइ प्रवर्द्धन गर्न ‘शौचालय कार्ड’ कार्यक्रम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष मुक्तानले अस्वस्थकर खानपान र चिसो पदार्थको सेवनले दीर्घकालीन असर पार्ने भन्दै सचेत रहन आग्रह गरे। केही वडामा वर्थिङ्ग सेन्टर स्थापना गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी भइरहेको जानकारी दिए।
उपाध्यक्ष बालकुमार मल्लले घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले वडास्तरमा रहेका स्वास्थ्यकर्मीमार्फत यसको जोखिमबारे जनचेतना फैलाउन जोड दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगर लगायतले पनि आफ्ना भनाइ राखेका थिए।

















