पत्रकार रजकको हत्यामा निष्पक्ष छानबिनको माग :  राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयलाई ध्यानाकर्षण

Image

हेटौंडा /  पत्रकार सुरेश रजकको हत्या केवल प्रेस स्वतन्त्रता माथिको हमला मात्र नभई मानवअधिकारको गम्भीर उल्लंघनसमेत भएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा शुक्रबार आयोगको कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयोगका निमित्त प्रमुख पवनकुमार भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार रजकको हत्यापछि प्रेस क्षेत्रमा व्याप्त भय, असुरक्षा र अन्योलको अवस्था अन्त्य गर्न निष्पक्ष र स्वतन्त्र छानबिन अपरिहार्य रहेको तर्क गरेको छ।

महासंघले पत्रकार रजकको हत्या मात्र नभई हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति पनि गम्भीर चासो व्यक्त गर्दै मानवअधिकार आयोगले यथाशीघ्र अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको छ।

“पत्रकारिता लोकतन्त्रको आधारशिला हो। पत्रकारमाथिको आक्रमण कुनै व्यक्तिमात्र होइन, जनताको सूचना पाउने अधिकारमाथिको आक्रमण हो,” महासंघका अध्यक्ष अधिकारीले भने, “त्यसैले मानवअधिकारको रक्षा गर्न पत्रकारको सुरक्षालाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो।”
राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले घटनाप्रति चासो लिएको र आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।