ईश्वरी रसाईलीको नेतृत्वमा मुक्ति समाज हेटौंडाको तेस्रो अधिवेशन सम्पन्न २३ सदस्यीय नयाँ कार्यसमिति चयन

Image

हेटौंडा/ उत्पीडित जातीय मुक्ति समाज हेटौंडा उपमहानगरपालिका कमिटीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले ईश्वरी रसाईलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशन नेकपा एमालेको पार्टी कार्यालय मकवानपुर सभाहलमा सम्पन्न भएको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा गोमा सुनार र सिंग बहादुर विश्वकर्मा चयन भएका छन्। सचिवमा मनिषा विश्वकर्मा, उपसचिवमा शान्ति मिजार र सरस्वती सुनार तथा कोषाध्यक्षमा प्रकाश विश्वकर्मा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा गिता परियार, पार्वती परियार, प्रविता सुनार, भगवती विश्वकर्मा, रिता सुनार, मुना विश्वकर्मा, चन्द्र बहादुर विश्वकर्मा, लक्ष्मी नेपाली, धन कुमार विश्वकर्मा, विष्णु परियार, दिल बहादुर सुनार, सम्झौता विक, रञ्जु सुनार, पुजा मग्राती, रिता सुनार र गीता सुनार रहेका छन्।
कार्यक्रममा अध्यक्षमा निर्वाचित रसाईलीले समाजमा नेतृत्व विकास, दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “दलित समुदायमाथिको विभेद र अन्यायविरुद्ध एकजुट भई संघर्ष गर्ने हाम्रो प्रमुख दायित्व हो। सामाजिक न्यायको प्रत्याभूति सुनिश्चित गर्न हामी निरन्तर सक्रिय रहनेछौं।”

अधिवेशनका प्रमुख अतिथि तथा नेकपा एमालेका नेता कमल कुमार विश्वकर्माले मुक्ति समाजलाई पार्टीको जनसंगठनको ‘नर्सरी’ को संज्ञा दिँदै नेतृत्व विकासमा यसको भूमिकालाई महत्वपूर्ण बताए। उनले मुक्ति समाजलाई चुनावका लागि मात्र नभई दीर्घकालीन साझेदारका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेकपा एमाले मकवानपुरकी सचिव सीता बिष्ट, मुक्ति समाजका केन्द्रीय सदस्यहरू सरिता परियार र शर्मिला बिक, जनसंगठन समन्वय संयन्त्र संयोजक सन्तोष पौडेल, मकवानपुर अध्यक्ष गोविन्द विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका अध्यक्ष बोलबहादुर कार्की, प्रदेश कमिटी सदस्य सपना विश्वकर्मा, दलित अभियन्ता सानोभाइ विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनमा सहभागी अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, आगामी दिनमा उत्पीडित जातीय मुक्ति समाजले दलित समुदायको हक र अधिकारका लागि अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।