हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर २ (ख) का प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले स्थानीय तहका सरकारले आगामी बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।
शनिबार मनहरी गाउँपालिका–८ स्थित आमाघर आश्रममा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) अन्तर्गतका पार्टी प्रतिनिधि र जनप्रतिनिधिबीच आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता बानियाँले जनताको आवश्यकता सम्बोधन गर्न सकेमा मात्र पार्टी संगठन बलियो हुने बताउनुभयो।
उहाले देशमा गणतन्त्र स्थापनापछि नागरिक भइसकेको राजालाई केही समूहले पुनः ‘मालिक’ बनाउने प्रयास गर्नु अराजक कार्य भएको आरोप लगाउनुभयो। राप्रपाले बोकेको सामन्ती सोचबाट राजा प्रजातान्त्रिक हुन नसक्ने र नेपाली जनताले पनि त्यो सोचलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभयो।
नेता बानियाँले कांग्रेसका अगुवा कार्यकर्तालाई गाउँ–सहरमा रहेका आम नागरिकसम्म पार्टीको धारणा पुर्याउँदै संगठन सुदृढीकरण र विस्तारमा लाग्न निर्देशन दिनुभएको थियो। सरकारमा पुगेपछि मात्र पार्टी बलियो हुने नभई जनताको स्वास्थ्य, शिक्षा र रोजगारीमा आधारित कार्यदिशाले मात्र कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन सकिने उहाले बताउनुभयो।
कार्यक्रममा स्थानीय समस्या, विकास निर्माणका सम्भावना तथा कांग्रेसको भावी रणनीतिबारे छलफल भएको थियो। सहभागीहरूले जनप्रतिनिधिहरूसँग प्रत्यक्ष प्रश्न राख्दै आफ्ना जिज्ञासाहरू राख्नु भनेको थियो।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, प्रदेश सभा सदस्य सन्त चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष तथा संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य प्रभातकुमार दाहाल, राजेश भेटवाल, टेकनाथ शिवाकोटी, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाका सभापति प्रकाश वर्तौला, बीरेन्द्र जिम्वा, राजेन्द्र घिसिङ, मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङलगायत नेताहरूले सहभागी कार्यकर्ताहरूको जिज्ञासामा जवाफ दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता कांग्रेस मकवानपुर क्षेत्र नं. २ (ख) का सभापति रञ्जन कालाखेतीले गर्नु भएको थियो भने प्रमुख अतिथि बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ रहनुभएको थियो। कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका अध्यक्ष–उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारी, पालिका तथा वडास्तरीय जनप्रतिनिधि र भ्रातृ संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।