हेटौंडा/ हेटौंडा अस्पतालको अस्तित्व जोगाउन सुरु गरिएको ‘हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान’ अहिले जनचासोको केन्द्रमा छ। आन्दोलनको शैली एकातिर सिर्कस झैँ देखिए पनि, अर्कातिर यसको सन्देश भने गम्भीर र चेतावनीपूर्ण छ। यो आन्दोलनले अब प्रतिष्ठानले निकालेको एक प्रेस विज्ञप्तिलाई लिएर कडा प्रतिक्रिया दिएको छ।
‘तोडफोड’, ‘अराजक’ जस्ता शब्दको प्रयोगले आम सर्वसाधारणमा भ्रम फैलाउने प्रयत्न गरिएको भन्दै आन्दोलनकारीहरू आक्रोशित छन्। उनीहरू भन्छन्, “यो कुनै तोडफोड होइन, शुद्ध रुपमा रचनात्मक चेतावनी हो। अस्पताल हाम्रो हो, हामी नै जोगाउँछौँ।”
हेटौंडा अस्पताललाई भत्काउने नियतमा कुनै पनि हालतमा साथ नदिने बताउँदै, अभियानका संयोजक विशाल राज महत ‘कामह’ ले भने, “हामीले आन्दोलनमा सिर्कस शैली अपनाएका छौं, ताकि सन्देश जनतासम्म प्रभावकारी तरिकाले जाओस्। तर हाम्रो आन्दोलनमा कुनै क्षति, हिंसा वा अव्यवस्था छैन।”
राजनीतिक दलहरूदेखि आम नागरिकसम्मको साथ
यो अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा विप्लव, जसपा जस्ता विभिन्न दलहरूका कार्यकर्ताहरूको ऐक्यबद्धता छ। उनीहरूले सांसद घेराउदेखि बिरोध ¥यालीसम्मका कार्यक्रम गर्दै प्रतिष्ठानलाई चेतावनी दिइसकेका छन्।
‘प्रतिष्ठानको प्रेस विज्ञप्ति – बदनियतपूर्ण र दलगत प्रेरित’
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दहरूलाई लिएर आलोचना तीव्र बनेको छ। अभियानकर्मीहरू भन्छन्, “विज्ञप्ति न्यायालयलाई प्रभावित पार्ने गरी, केही शक्तिको आडमा जारी गरिएको हो। यो प्रेस विज्ञप्ति न्यायिक मर्यादाको अपमान हो।”
साथै, उनीहरूले सामाजिक सञ्जालमा देखिएका भिडियोलाई प्रमाणका रूपमा पेस गर्दै, कुनै पनि संरचनात्मक क्षति नपु¥याइएको दाबी गरेका छन्।
नयाँ वर्षसँगै नयाँ जोश
नयाँ वर्ष २०८२ को अवसरमा अभियानकर्मीहरूले सम्पूर्ण मकवानपुरवासीलाई शुभकामना दिँदै आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
अन्त्यमा संयोजक विशाल महतको भनाइ, “हामी यो सिर्कस होइन, गम्भीर आन्दोलन हो भनेर देखाउँदैछौं। तर यदि सिर्कसकै माध्यमबाट जनतालाई सन्देश दिनु पर्यो भने पनि हामी तयार छौं। किनकि अस्पताल हाम्रो हो – आत्मा जस्तो, जसलाई बेच्न, भत्काउन कसैलाई अधिकार छैन।”