हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले हाल हेटौंडा अस्पतालमाथि उठेका विवादप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित अस्पतालको प्रगतिलाई नदेख्ने मानसिकताले अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेका छन्।
“किन प्रगति देख्न सक्दैनन् मान्छेहरू?” भन्दै उनले प्रदेशसभाबाट सर्वसम्मत निर्णयमार्फत झण्डै ६ वर्षअघि स्थापना भएको प्रतिष्ठानमाथि आशयहीन आरोप लगाउनु अनुचित रहेको उल्लेख गरेका छन्।
उनका अनुसार, प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय सुधार आएको छ र मकवानपुरबासीको भरोसा जित्न सफल भएको छ। उनले विगतमा बदनाम रहेको हेटौंडाको स्वास्थ्य क्षेत्र अहिले प्रतिष्ठानको उपस्थितिले सम्मानित बनेको दाबी गरेका छन्।
“हिजो बदनाम रहेको हेटौंडा आज प्रतिष्ठानको आडमा सम्मानसाथ अघि बढिरहेको छ,” उनले भनेका छन्।
वडाध्यक्ष सिग्देलले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई राजनीतिक द्वन्द्वको अखडा बनाउन खोजिएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्ता संस्थाहरूप्रति सुझाव दिन सकिने भए पनि बेकारको विवाद सिर्जना गरेर संस्था कमजोर बनाउने प्रयास दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
सिग्देलले स्वर्गीय मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानलाई विवादमा तान्नु उनको योगदान र स्मृतिप्रति अपमान हुने उल्लेख गरेका छन्। “यदि कसैलाई मदन भण्डारीको नाम वा नेकपा एमालेप्रति गुनासो छ भने पनि, पार्टीले भण्डारी, पुष्पलाल र मनमोहन अधिकारीले देखाएको बाटोमा अझ सशक्त रूपमा अघि बढ्नेछ,” उनले प्रस्ट पारेका छन्।
उनका अनुसार, हेटौंडा क्षेत्रको समग्र विकास पछाडि रहनुको मुख्य कारण सोच र दृष्टिकोणको अभाव थियो, जुन आज परिवर्तन हुँदै गएको छ।

















