हेटौंडा / युवालाई स्वरोजगार र आत्मनिर्भरता तर्फ उन्मुख गराउने उद्देश्यसहित हेटौंडामा व्यूटिपार्लर तालिम सुरु गरिएको छ। बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्को सहयोगमा सञ्चालित तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन्।
३९० घण्टा अवधि हुने यो तालिमले विशेष गरी महिलाहरूमाझ सीपमूलक उद्यमशीलता विकास गर्ने अपेक्षा गरिएको छ। तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले “सिर्फ कागजी प्रमाणपत्रले जीवन परिवर्तन हुँदैन, व्यवहारमा उतार्दा मात्र तालिमको मूल्य देखिन्छ” भन्दै व्यवहारिक ज्ञानको प्रयोगमा जोड दिइन्।
उनले सरकारद्वारा युवालक्षित तालिममा गरिएको लगानीको प्रभाव देखिन नसकेको उल्लेख गर्दै परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताइन्।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले पनि तालिम लिएका युवाले व्यवहारमा सीप प्रयोग नगर्दा सरकारी लगानीको सदुपयोग नहुने चेतावनी दिए। उनले सहभागीहरूलाई प्राप्त सीपलाई रोजगारी वा व्यवसायमा रूपान्तरण गर्न आग्रह गरे।
परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय बीमा बोर्डका अध्यक्ष दिनेश उपाध्याय, भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीलगायतको उपस्थिति रहेको थियो।
सञ्चालक संस्थाको भनाइमा अनुसार, यो तालिमले स्थानीय युवालाई सीपमा आधारित उद्यम सुरु गर्न हौसला दिनेछ, जसले दीर्घकालीन रूपमा आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

















