मकवानपुरमा चट्याङको जोखिम बढ्यो: जिल्ला प्रहरी कार्यालयद्वारा जनसुरक्षाका लागि १५ बुँदे निर्देशन

Image

हेटौंडा / मकवानपुर जिल्लामा पछिल्ला केही दिनयता चट्याङका घटनाहरू बढिरहेका छन्, जसका कारण केही व्यक्तिको ज्यान गएको पुष्टि भएको छ। यस्तो अवस्थामा जिल्लालाई उच्च जोखिम क्षेत्रको रूपमा घोषणा गरिएको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आम सर्वसाधारणलाई सावधानी अपनाउन १५ बुँदे निर्देशन जारी गर्दै चट्याङबाट बच्न आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन अनुरोध गरेको छ।

प्रहरी कार्यालयले जारी गरेको सूचनामा फलामे वस्तुबाट टाढा रहन, बिजुलीका पोल र अग्ला रूखहरू नजिक नजान, मोबाईल वा टेलिफोन प्रयोग नगर्न, तथा खुला स्थानमा नबस्न आग्रह गरिएको छ। साथै चट्याङ परेको अवस्थामा सुरक्षित स्थान वा पक्की घरभित्र आश्रय लिनुपर्ने, प्रभावित व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पु-याउनु पर्ने र उनीहरूलाई छुँदा कुनै असर नपर्ने जानकारी समेत दिइएको छ।

यस्ता प्राकृतिक प्रकोपबाट बच्न जनचेतना आवश्यक भएको भन्दै प्रहरी कार्यालयले सबै स्थानीय निकाय, विद्यालय, सञ्चारमाध्यम तथा समुदायसँग सहकार्य गर्न आह्वान गरेको छ। मौसमको असहज स्थितिमा अत्यधिक सतर्कता अपनाएर मात्रै सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरिएको छ।