हेटौंडा/ हालै सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमहरूमा हेटौंडा उपमहानगरपालिका र नगरप्रमुखसँग जोडिएर आएका समाचार तथा टिप्पणीहरूप्रति उपमहानगरपालिकाले ध्यानाकर्षण जनाउँदै स्पष्टिकरण जारी गरेको छ।
प्रेस विज्ञप्तिमार्फत उपमहानगरपालिकाले नगरप्रमुखले कुनै व्यक्तिगत निर्देशन नदिएको स्पष्ट पारेको छ। “नगरप्रमुखको निर्देशनमा एसी जोड्न बजेट दिइयो” भन्ने समाचार पूर्णतः तथ्यहीन, अतिरञ्जित र भ्रामक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले स्पष्ट पारेको छ कि नागरिकबाट प्राप्त हुने गुनासा, निवेदन तथा सुझावहरू सम्बन्धित शाखामा दर्ता गरी प्रक्रियागत ढंगले अध्ययन र मूल्याङ्कन गरेर मात्र आवश्यक निर्णय गरिन्छ। प्राप्त निवेदनलाई दर्ता गरी नियमित प्रक्रिया अनुसार सम्बोधन गरिँदै आएको भन्दै कुनै व्यक्तिलाई व्यक्तिगत लाभका लागि बजेट विनियोजन गरिएको दाबी असत्य भएको बताइएको छ।
“स्थानीय सरकार नागरिकको नजिकको सरकार हो। हरेक कार्य कानूनी प्रक्रिया, पारदर्शिता र सार्वजनिक हितको आधारमा गरिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै, उपमहानगरपालिकाले सञ्चार स्वतन्त्रताको सम्मान गर्ने जनाउँदै तथ्य र प्रक्रिया विपरीत प्रस्तुत गरिएका समाचारले नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार पत्रकारिताको अभ्यास गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।
उपमहानगरपालिकाले युवाहरूको उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन गर्ने नीति अन्तर्गत व्यवसायहरूलाई कानूनी प्रक्रिया भित्र रहेर प्रोत्साहित गरिँदै आएको स्पष्ट पारेको छ।
उपमहानगरपालिकाले आमनागरिकलाई यस्ता भ्रामक सूचनाको पछि नलाग्न र आधिकारिक तथा प्रमाणित स्रोतहरूमार्फत जानकारी लिन अनुरोध गरेको छ।

















