कान्तिलोक पथमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, १३ जना घाइते

Image

हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीस्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको विद्युतीय (EV) सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गाडीमा १५ जना यात्रु सवार थिए। घाइतेमध्ये १० जनालाई प्रारम्भिक उपचारपछि हेटौंडा अस्पतालतर्फ पठाइएको थियो भने अन्यको उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको हो।

हेटौंडा अस्पतालमा उपचाररत घाइतेहरूमध्ये रौतहट दुर्गा भवानिपुर गा.पा.–५ निवासी ५५ वर्षीय राम प्रकाश राउतको अवस्था मध्यम रहेको छ भने उनकी श्रीमती ५० वर्षीया निलम देवी राउतको टाउकोमा गम्भीर चोट लाग्दा उपचारको क्रममा बिहान ४:३० बजे मृत्यु भएको हो।
त्यसैगरी, सर्लाही बरहथहवा न.पा.–८ निवासी ५२ वर्षीय शिवशंकर राय, उनकी ४५ वर्षीया श्रीमती रिकिदेवी राय र २७ वर्षीय मनोज राय पनि मध्यम घाइते भएका छन्।

मकवानपुर सहकारी अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा नवराज मगर, प्रियंका मगर, सृजन मगर, जमुना मगर, सुदीप रिसाल, देवराज कुमार साह, किसुनव्रर्ती साह, युनिका दर्लामी मगर, र आदित्य छोरचंगी मगर रहेका छन्। सबैको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
दुर्घटनामा सर्लाही बागमती गा.पा.–७ निवासी करिब १३ वर्षीया मानुसी मगरको भने घटनास्थल नजिकै खोल्सामा मृत अवस्था बिहान ५:३० बजे फेला परेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ।