हेटौंडा / पथलैया–निजगढ सडकखण्डमा शुक्रबार साँझ एक कार र टिप्पर एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना पथलैया–निजगढ सडकखण्डको १३ किलो नजिकै भएको हो। बागमती प्रदेश ०१-०२५ च ५०७६ नम्बरको निजी कार र टिप्पर एकआपसमा ठोक्किँदा कारमा सवार दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेका मृतकहरूको पहिचान खुलाइएको छैन भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक कारबाही अघि बढाएको छ।