हेटौंडा/ हेटौंडा अस्पतालको अवस्था सुधार गर्न निरन्तर सक्रिय रहँदै आएको “हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान”ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ।
प्रेस विज्ञप्तिमा संयोजक विशाल राज महतद्वारा उल्लेख गरिएअनुसार, अस्पताल सुधारका लागि गरिएको आन्दोलनमा सहभागी अभियन्ताहरूको गिरफ्तारीदेखि प्रशासनसँग राखिएको मागहरूसम्मको प्रक्रियामा साथ दिने राजनीतिक दलका शीर्ष नेता, निष्पक्ष पत्रकार, सामाजिक अभियन्ता, नागरिक समाजका अग्रजहरू, प्रहरी प्रशासन र मकवानपुरवासी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
“यो अभियान मकवानपुरका जनताको अभियान हो,” संयोजक महतले उल्लेख गरेका छन्, “जनताको स्वास्थ्य अधिकारका लागि हामीले सुरु गरेको यो प्रयास जनसहभागिताको बलमा अझै सशक्त हुँदै गएको छ।”
अभियानले भविष्यमा पनि आम नागरिकका मुद्दामा रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ। मकवानपुरको प्रत्येक बासिन्दासम्म अभियानको आवाज पुर्याउन अहोरात्र लागिपर्ने संकल्प पनि गरिएको छ।
यस आन्दोलनले हेटौंडा अस्पताल सुधारको विषयलाई केवल स्थानीय मुद्दा होइन, जनस्वास्थ्यसँग जोडिएको साझा एजेन्डा बनाउँदै राष्ट्रिय बहसमा रूपान्तरण गर्ने सम्भावना देखिएको छ।