बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य संस्थाको अनुगमन सुरु

Image

हेटौंडा/ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। आइतबार मन्त्रालयका सचिव डा. सुमीत्रा गौतमको नेतृत्वमा रहेको टोलीले काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको हो। अस्पतालले २०० शय्याको नवीकरणका लागि मन्त्रालयमा विद्युतीय प्रणालीमार्फत आवेदन दिएको थियो।

अनुगमन टोलीले अस्पतालको वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, संक्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डको आधारमा निरीक्षण गरेको हो।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले टोलीलाई अस्पतालको वर्तमान सेवा, सञ्चालन प्रक्रिया र भविष्यका विस्तार योजनाबारे जानकारी गराएका थिए। उनले सन् २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्ने योजना रहेको र यसले नेपालमा निजी क्षेत्रको स्वास्थ्य सेवामा थप गुणस्तर ल्याउने विश्वास व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गेलालले अनुगमनलाई नियमित प्रक्रिया भन्दै स्वास्थ्य संस्थाहरूले मापदण्डअनुसार सेवा दिइरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न यस्तो प्रक्रिया आवश्यक भएको बताए। उनले नर्भिकको विस्तार योजना प्रदेशको स्वास्थ्य नीतिअनुसार रहेकोमा सन्तोष व्यक्त गरे।

टोलीले अस्पतालको भौतिक पूर्वाधार, सरसफाइ, बिरामी सेवा प्रणाली र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको निरीक्षण गरेको थियो। कार्यकारी अधिकृत मिश्रका अनुसार नर्भिकले आधुनिक उपकरण, दक्ष जनशक्ति र प्रभावकारी सेवा प्रणालीमार्फत हजारौं बिरामीलाई सेवा दिँदै आएको छ।
अस्पताल प्रशासनले सरकारसँग सहकार्यलाई सकारात्मक बताउँदै भविष्यमा अझ सस्तो, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

मन्त्रालयले दिएको प्रारम्भिक मूल्याङ्कनमा अस्पतालको सेवा सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया प्राविधिक मूल्याङ्कनपछि अघि बढाइने जनाइएको छ। अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा. रबिन भुषाल, कानुन अधिकृत जेनिशा चुवान, नर्सिङ अधिकृत स्वेता मानन्धर लगायत सहभागी थिए।