हेटौंडा / स्थानीय समुदायमा सुरक्षित खानेपानी, स्वच्छता र सरसफाईका लागि संयुक्त पहल
राक्सिराङ, मकवानपुर खानेपानी, स्वच्छता तथा सरसफाई (WASH) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले राक्सिराङ गाउँपालिका र अन्तर्राष्ट्रिय संस्था वाइन टु वाटरबीच तीन वर्षे साझेदारी सम्झौता (MOU) सम्पन्न भएको छ।
सम्झौताअनुसार, दुवै पक्षले आपसी सहकार्यमा विभिन्न खानेपानी आयोजनाहरू सञ्चालन गर्दै स्थानीय समुदायलाई सुरक्षित, भरपर्दो र दिगो सेवा प्रदान गर्नेछन्। साथै, स्वच्छता अभिवृद्धि र सरसफाई सम्बन्धी व्यवहारमा सुधार ल्याउने कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यो कार्यक्रमले खानेपानीको अभाव झेलिरहेका समुदायहरूमा प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस पहलले दीगो विकास लक्ष्य (SDGs) अन्तर्गत सुरक्षित खानेपानी तथा सरसफाईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न टेवा पुग्नेछ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पनि यस्तो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने जनाउँदै आगामी दिनमा समेत यस्ता साझेदार कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउनुभयो।
यो साझेदारीले राक्सिराङको ग्रामीण जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।













