खेलकुद बजेट कटौतीप्रति मन्त्री महर्जनको गुनासो: “राज्यको चासोको अभावले युवा विदेशिन बाध्य”

Image

हेटौंडा/ बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई सरकारले आवश्यक प्राथमिकता नदिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।

हेटौंडामा मङ्गलबारदेखि सुरु भएको खेलकुद पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेशको खेल क्षेत्र उपेक्षित भइरहेकाले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रदेशको ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेका छन्, तर आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयलाई मात्र ६१ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ, जुन अत्यन्तै निराशाजनक हो।”

मन्त्री महर्जनले खेलकुद क्षेत्रलाई बेवास्ता गर्नुका गम्भीर सामाजिक परिणाम देखिन थालेको उल्लेख गर्दै युवाहरू वैदेशिक रोजगारीतर्फ आकृष्ट हुन थालेको बताउनुभयो। उहाँले थपे, “यदि हामीले खेलकुदलाई प्राथमिकतामा राखेर लगानी गर्न सकेनौं भने प्रतिभाशाली युवा शक्ति देशबाट बाहिरिन बाध्य हुनेछन्।”

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव दीपक लामाले परम्परागत सोच र कार्यशैलीबाट खेल क्षेत्रको विकास सम्भव नरहेको बताउनुभयो। उहाँले तथ्यमा आधारित सम्भाव्यता अध्ययनको आधारमा पूर्वाधार निर्माण र लगानी गर्नुपर्नेमा जोड दिनुभयो।

सदस्य सचिव लामाका अनुसार जनघनत्व र स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा खेल पूर्वाधार निर्माण गरिनु आवश्यक छ।

कार्यक्रममा परिषद्का कार्यालय प्रमुख सूर्यबहादुर दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो। दुई दिनसम्म चल्ने कार्यक्रममा खेलकुद पत्रकारिता विषयमा प्रकाश तिमल्सिना र पवन आचार्यले प्रशिक्षण दिनेछन्।