हेटौंडामा महिला प्रहरीका लागि नवनिर्मित व्यारेक भवनको उद्घाटन

Image

हेटौंडा/  मकवानपुर  बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा हेटौंडामा महिला प्रहरीका लागि नवनिर्मित आवासीय व्यारेक भवनको बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरको परिसरभित्र निर्माण गरिएको उक्त भवनको उद्घाटन प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले गरेका हुन्।

समारोहमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

व्यारेक भवन निर्माणमा योगदान पुर्‍याउने गौरीगणेश कन्स्ट्रक्सनका सञ्चालक पवन कुमार मिश्रलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो। यस्तै, प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र हवल्दार असर्फिलाल साहलाई पनि प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

तीन तल्ले आरसीसी फ्रेम संरचनामा निर्मित उक्त भवन ५०४.०९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। भवन निर्माण कार्य कुल एक करोड एकान्नब्बे लाख नौ हजार बयालीस रुपैयाँ लागतमा सम्पन्न गरिएको हो।

महिला प्रहरीहरूको सेवा सुविधा अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको यो भवन आधुनिक सुविधासम्पन्न बनाइएको छ।