५७,५०० क्याप्सुल ट्रामाडोलसहित पिकअप गाडी पक्राउ, दुई जना नियन्त्रणमा

Image

हेटौंडा / लागूऔषध ओसारपसारमा संलग्न दुई युवकलाई प्रहरीले ५७,५०० क्याप्सुल ट्रामाडोल सहित पिकअप गाडीसहित पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले चेकजाँचको क्रममा सोमबार बिहान ९:३० बजे लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बारा जिल्लाको सिम्रौनगढबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई शंका लागि रोक्दा, गाडीको अगाडिको इञ्जिन भागमा लुकाई छिपाई राखिएको अवस्थामा Tramadol Hydrochloride 50mg का ५७,५०० क्याप्सुल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा बारा पचरौता नगरपालिका–७, बेनौली निवासी २५ वर्षीय तिर्थलाल पासवान र २३ वर्षीय सहचालक सुनिल पटेल रहेका छन्। बरामद औषधिको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँको दरले कूल ४ लाख १४ हजार रुपैयाँ बराबर पर्ने बताइएको छ।

प्रहरीले गाडीसहित लागूऔषध नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको छ।