हेटौंडा–११ मा तनाव व्यवस्थापन तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी अनुशिक्षण सम्पन्न

Image

हेटौंडा / सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा हेटौंडा–११ को आयोजना र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा “तनाव व्यवस्थापन तथा सकारात्मक सोच अभिवृद्धि” सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्याल, विशिष्ट अतिथि वडा नं. ११ की अध्यक्ष जुना दाहाल, सदस्य गोपिनी सापकोटा, सामाजिक संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गङ्गा चौलागाईं, उपाध्यक्ष कृष्ण प्रसाद खनाल, सचिव खेमराज सापकोटा, सहसचिव दिवस पराजुली, पूर्व अध्यक्ष तथा सल्लाहकार सालिकराम पुडासैनी, हेटौंडा ११ टोल बिकास वडा समन्वय समिति अध्यक्ष यज्ञ बहादुर आचार्य, थानाभर्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु प्रसाद लोहनी र प्रहरी सहायक हवल्दार निमा भण्डारीलगायतको उपस्थिति रहेको थियो।

अनुशिक्षणमा हेटौंडा–११ का ११ वटा टोल विकास संस्थाका ५५ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डीएसपी अर्यालले वर्तमान समाजमा तनाव एक सामान्य तर गम्भीर विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले व्यक्तिको मानसिक स्वास्थ्य सुदृढ बनाउँदै सभ्य र सकारात्मक समाज निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले हेटौंडा क्षेत्रका बालबालिका लागू औषध र साइबर अपराधमा संलग्न हुन थालेको अवस्था चिन्ताजनक भएको बताउनुभयो।

वडा अध्यक्ष जुना दाहालले समाजमा सकारात्मक सोचको प्रवर्द्धनका लागि यस्ता अनुशिक्षण कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउँदै वडाबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सामाजिक संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गङ्गा चौलागाईंले समाजमा व्याप्त नकारात्मक प्रवृत्तिहरू हटाउन यस्ता परिवर्तनशील कार्यक्रम आवश्यक भएको बतानुभयो।