ब्रेक फेल भएर स्कुटर दुर्घटना, एमाले मकवानपुर अध्यक्ष पोखरेल गम्भीर घाइते

Image

हेटौंडा/  नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्कअगाडि उनी सवार स्कुटर दुर्घटनामा परेको हो।

पोखरेल आफैंले चलाइरहेका बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटरको ब्रेक फेल हुँदा सन्तुलन गुमाएर दुर्घटनामा परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परेका पोखरेललाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। डीएसपी अर्यालका अनुसार पोखरेलको टाउको, निधार र दायाँ हातमा चोट लागेको छ। अचेत अवस्थामा रहेका पोखरेललाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।