हेटौंडा/ रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै सुरक्षित र पोषणयुक्त आहार सुनिश्चित गर्ने उद्देश्यले खाद्यका लागि कृषि अभियानले “जैविक जागरण अभियान” संचालनमा ल्याएको छ। बैशाख ९ गतेदेखि एक महिना लामो यो अभियान सुरु भएको हो।
अभियानको पाँचौँ दिन मकवानपुरमा सञ्चारकर्मीहरूसँग आयोजित भेटघाट कार्यक्रममा संयोजक उद्धव अधिकारीले प्राकृतिक र स्थानीय विशेषता अनुसार खेती प्रणाली परिमार्जन गर्दै जैविक कृषि तर्फ रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, अझैसम्म कृषि नीति तथा संघीय कानुन निर्माण नभएकाले कृषिमा दीगो सुधारको बाटो अवरुद्ध भएको छ।
“व्यावसायिकता र आधुनिकीकरणका नाममा बाह्य रसायनमा निर्भर हुनु दीर्घकालीन रूपमा घातक छ,” संयोजक अधिकारीले जोड दिनुभयो। कृत्रिम मल र विषादीको प्रयोगविना उत्पादन बढाउने र स्वास्थ्यप्रद खाना सुनिश्चित गर्ने अभियान बिना, भाषण र नाराले मात्र समस्या समाधान नहुने उहाँको भनाइ थियो।
अभियान अन्तर्गत स्थानीय तह, कृषक समूह, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया, छलफल तथा कृषि फार्म अवलोकन हुँदै चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। बागमती प्रदेशका सभामुख, उपसभामुख र विषयगत समितिका सभापतिहरूसँग भेट गर्दै जैविक तथा प्रकृतिमैत्री कृषि नीति निर्माणका लागि सुझावसमेत पेश गरिएको आयोजकले जानकारी दिएको छ।
“सबैका लागि विषादीमुक्त र पोषणयुक्त खाना” उपलब्ध गराउने दृढ अठोटसहित संचालन भएको यो अभियान अन्ततः काभ्रेपलाञ्चोकमा समापन हुने जनाइएको छ। आयोजकहरूले संघीय, प्रदेश तथा स्थानीय सरकार, कृषक, नागरिक समाज र सञ्चार क्षेत्रलाई अभियानमा सक्रिय सहभागिताको आह्वान गरेका छन्।

















