हेटौंडामा पैदल यात्रीलाई बसले ठक्कर दिँदा ज्यान गयो

Image

हेटौंडा/ मकवानपुर जिल्लाको हेटौंडा–८ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, आइतबार राति करिब ११:४० बजे पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसले पैदल यात्रा गरिरहेका एक पुरुषलाई ठक्कर दिएको थियो। घाइते अवस्थामा उद्धार गरिएका उनलाई हेटौंडा अस्पताल ल्याइए पनि उपचारकै क्रममा निधन भएको हो।

मृतकको पहिचान पर्सा जिल्ला पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परवेज अन्सारीका रूपमा गरिएको छ। प्रहरीका अनुसार, अन्सारी आफ्नै ट्रक (ना ५ ख ८६६८) मर्मत गराउन मिस्त्रीसँगै सामान लिएर पैदल गइरहेका बेला दुर्घटनामा परेका थिए।

दुर्घटनापछि चालक बससहित फरार भए पनि बारा जिल्लाको अमलेखगञ्जबाट नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी श्यामु अर्यालले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।