हेटौंडा / नव जागरण नेपालद्वारा हेटौंडा उपमहानगरपालिका–११ मा महिलाहरुलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले आयोजना गरिएको सात दिने सायपाटा सजावट तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
शहीद स्मारक टोल विकास संस्थाको सभाहलमा आयोजित उक्त कार्यक्रम हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। कार्यक्रममा वडा सदस्य गोपीनी सापकोटा, गीता सुनार, नगर समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर आचार्यलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष दाहालले तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो। “सीप विकास बिना समृद्ध समाज सम्भव छैन, यस तालिमले सहभागी महिलाहरूको जीवनस्तर उकास्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो।

तालिममा सहभागी महिलाहरूलाई सायपाटा (ट्रे) सजावट सम्बन्धी व्यवहारिक ज्ञान दिइनेछ । यस्तै जसबाट उनीहरूले घरमै बसेर आम्दानी गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको बताउनुभयो।

















