हेटौंडा/ मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकाका तीन वडालाई केन्द्रित गर्दै लोथर–पाङ्थली सडक खुल्ला गरिएको छ। यस सडकले मनहरी गाउँपालिका-६ को लोथरदेखि हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ-६ पाङ्थलीसम्म सवारी आवागमन सम्भव बनाएको छ।
यसअघि राक्सिराङ-६, ७ र ८ नम्बर वडाका बासिन्दाहरूलाई आफ्नै गाउँपालिका कार्यालय तथा जिल्ला सदरमुकाम पुग्नका लागि चितवनको भण्डाराबाट राप्ती नगरपालिका हुँदै घुम्नुपर्ने बाध्यता थियो। अब भने यो नया सडक खुल्लासँगै सो कठिनाइ अन्त्य भएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको अगुवाइमा करिब चार महिनाको प्रयासबाट ७ किलोमिटर ट्रयाक निर्माण गरिएको हो। २०७४ सालको निर्वाचनका बेला दिएका प्रतिबद्धता अनुसार निजी स्रोत र उपकरण प्रयोग गरेर बानियाँले सडक निर्माणको थालनी गरेका थिए।
सडकको स्तरीकरणका लागि मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अब साना सवारी साधनहरू सञ्चालनमा आइरहेका छन्। शनिबार आयोजित कार्यक्रममार्फत प्रदेशसभा सदस्य बानियाँ र मनहरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतको उपस्थितिमा सडक उद्घाटन गरिएको हो।
वडाध्यक्ष अक्कलबहादुर मोक्तानका अनुसार, नयाँ सडकले यात्राको समय करिब आधा घटाएको छ। हिउँदमा सडक प्रयोग गर्न मिल्ने भए पनि वर्षात्को समयमा स्थायीत्वका लागि पक्की पुल र थप स्तरीकरण आवश्यक रहेको उनले बताए।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अशोक शाक्यले सडक निर्माणमा बानियाँको अठोटको प्रशंसा गर्दै विकासमा पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, कांग्रेस नेतृ जानकी लामा, स्थानीय नेताहरू प्रकाश वर्तौला, कुलबहादुर नगरकोटी र अन्य जनप्रतिनिधिहरूले मन्तव्य व्यक्त गरे। कार्यक्रमको अध्यक्षता मनहरी ६ का कार्यवाहक वडाध्यक्ष विष्णु राईले गरेका थिए।

















