हेटौंडा/ मकवानपुर मदन भण्डारी फाउन्डेसनको चौथो साधारण सभा तथा अधिवेशन शनिबार हेटौंडामा सफलता साथ सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत रघुनाथ खुलाललाई पुनः अध्यक्षमा चयन गरेको छ। खुलालकै अध्यक्षतामा सम्पन्न भेलाले नयाँ २१ सदस्यीय कार्यसमिति गठन गरेको हो।
नवगठित कार्यसमितिमा धर्म बस्नेत उपाध्यक्ष, कुमार के.सी. सचिव, चन्द्रावती पनेरु अधिकारी उपसचिव, तथा गोकर्ण तिवारी कोषाध्यक्षको रूपमा चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा मुकुन्द अधिकारी, आशा काजी श्रेष्ठ, कमल कुमार विश्वकर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवस अधिकारी, रवि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज दाई, राधिका चौवनागरी, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरण लामीछाने र सम्झना पौडेल रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक रूपान्तरण भए तापनि जनताको दैनन्दिन जीवनमा पर्याप्त सुधार आउन नसकेको धारणा राखिन्। उनले सामाजिक तथा आर्थिक क्षेत्रको समुचित रुपान्तरण अझै अपुरो रहेको बताउँदै, जननेता मदन भण्डारीको विचार राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ सबै दलहरूले आत्मसात गर्नु आवश्यक रहेको औंल्याइन्।
पूर्वराष्ट्रपतिले ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई नेपालको सामाजिक यथार्थमा आधारित मौलिक राजनीतिक सिद्धान्तका रूपमा वर्णन गरिन्। यसले बहुदलीय प्रतिस्पर्धा, खुला लोकतान्त्रिक प्रक्रिया र समाजवादतर्फको मार्गदर्शन सुनिश्चित गर्ने उनको भनाइ थियो। उनले स्मरण गरिन् कि २०४७ सालको संविधानप्रति जननेता भण्डारीले प्रस्तुत गरेको २७ बुँदे आलोचना नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको आधार बन्यो।
यसै अवसरमा पञ्चायती शासनविरुद्ध संघर्षमा महत्वपूर्ण योगदान पुर्याएकी शुभद्रा रेग्मीलाई ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२’ बाट सम्मानित गरिएको थियो।
कार्यक्रममा संस्थापक डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, केदार न्यौपाने, तथा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतको उपस्थिति रहेको थियो।