हेटौंड/ हेटौंडा उपमहानगरपालिका-१६ र १७ को सिमानास्थित गैरीगाउँमा जमिन भासिँदा बेपत्ता भएको एउटा बोलेरो गाडी तीन दिन बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन।
शुक्रवार अपराह्न रोकिराखिएको अवस्थामा एक्कासी जमिन भासिँदा ना ४ च ४८३३ नम्बरको माछा ढुवानी गर्ने बोलेरो गाडी भुइँमा हराएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो। गाडीको अगाडिको पाङ्ग्रा जमिनमा धसिएपछि निकाल्ने प्रयास भइरहेको बेलामा जमिन एकाएक भासिँदा गाडी पूर्ण रूपमा गुम भएको स्थानीय हरुको भनाई रहेको छ। गाडी भासिँदा सडकमै पानी जमेर दह बनेको थियो ।
सौभाग्यवश, गाडीका चालक तथा सहचालक भासिनुअघि नै बाहिर निस्कन सफल भएकाले ज्यान जोगिएको गाडीका चालक हरेराम राईले बताए। उनका अनुसार गाडी जम्मा ५ सेकेन्डमै जमिनमुनि हराएको थियो। घटनास्थल नजिकै रहेको माछा पोखरी र बोरिङ प्रणालीका कारण जमिन कमजोर भई भासिएको हुन सक्ने अनुमान गरिएको छ।
शनिवार दिनभर दुई थान मोटर प्रयोग गरी पानी निकाल्दा पनि गाडी भेटिएन। त्यसपछि आज आइतबारदेखि नजिकैको पोखरीबाट माछा र पानी निकाल्ने काम भइरहेको छ, पानि निकाली सकेपछि गाडीको खोजी सजिलो हुने आशा गरिएको छ।
यसैबीच, हेटौंडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समिति बैठक बोलाएर उक्त स्थानको अध्ययनका लागि भूगर्भविद् ल्याउने निर्णय गरेको छ। उपमेयर राजेश बानियाँका अनुसार भूगर्भीय अध्ययनबिनै कुनै पनि निष्कर्षमा पुग्न वा काम गर्न सकिने अवस्था छैन।
आज आईतबार उपमेयर बानियाँ र वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले घटनास्थलको निरीक्षण गर्दै थप दुर्घटना हुन नदिन नगर प्रहरी खटाइएको जानकारी दिनुभयो।

















