शान्ति सुरक्षामा सशक्तता: मकवानपुर प्रहरीले प्राप्त गर्यो तीन थान मोटरसाइकल

Image

हेटौंडा / मकवानपुर जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले बागमती प्रदेश सरकारबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई तीन थान मोटरसाइकल हस्तान्तरण गरिएको छ।

बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्यमन्त्री  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा मोटरसाइकल हस्तान्तरण गरिएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय  सुरज चन्द्र लामिछाने , मन्त्रालयका सचिव कृष्ण बहादुर साही , मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ  तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले शान्ति सुरक्षा प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक साधन र स्रोतको अभावमा सुरक्षाकर्मीहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले मोटरसाइकल प्रदान गरिएको बताउनुभयो।

प्रहरी उपरीक्षक विश्व राज खड्काले हस्तान्तरण गरिएका मोटरसाइकलहरूले प्रहरीको द्रुत प्रतिक्रिया क्षमता र गस्ती कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यस प्रकारको सहयोगले जिल्लामा अपराध नियन्त्रण, निगरानी तथा गस्ती कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।