हेटौंडा/ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले नेपालमै स्वरोजगार र उद्यमशीलताको अपार सम्भावना रहेको उल्लेख गर्दै ३० दिने स्वदेशी हातेकागज उत्पादन तालिमको उद्घाटन गर्नुभएको छ।
बागमती प्रदेश सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको आर्थिक सहयोगमा र जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरको संयोजनमा यो तालिम सञ्चालनमा ल्याइएको हो।
तालिम उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले सहभागीहरूलाई उद्दीपक सम्बोधन गर्दै भन्नुभयो, “यो तालिम केवल प्रमाणपत्र प्राप्तिका लागि होइन, उद्यमी बन्ने तयारीका लागि हो। यसको सफलताले युवाहरूले घरमै बसेर मासिक लाखौं आम्दानी गर्न सक्छन्।” साथै, तालिमपछि स्थानीय तहले व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत ऋण, बीमा सुविधा, बैंक ब्याज भुक्तानीमा सहयोग तथा बजारमा पहुँच दिलाउने ग्यारेन्टी पनि उहाँले दिनुभयो।
तालिममा केरा खेती, हातेकागज निर्माण, र अन्य नगदेबालीको सम्भावना समेटिएको छ। कार्यक्रमको उद्देश्य फोहोर बोटबिरुवाबाट कागज उत्पादन गरी लागू औषधको विकल्पका रूपमा वैकल्पिक उद्यम विकास गर्नु हो।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले तालिम, उत्पादन र रोजगारीलाई एकसाथ जोडेर अघि बढ्नुपर्नेमा जोड दिँदै तालिमविना सञ्चालित उद्योगहरू प्रायः असफल हुने तथ्य औंल्याउनुभयो।
त्यस्तै, उपाध्यक्ष वनस्थम थिङले तालिमले चेपाङ लगायत जोखिममा रहेका समुदायलाई स्वरोजगारमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “लागू औषध खेतीको जोखिम हटाएर अब वैकल्पिक आम्दानीका बाटो—जस्तै केरा खेती र हातेकागज उत्पादन—अवलम्बन गर्नुपर्ने बेला आएको छ।”
उहाले बजेट अभाव र नीति निर्माणमा चुनौती रहे पनि तालिमपछि व्यवसाय थालनी गर्न चाहनेहरूलाई आवश्यक बैंक सुविधा, बीमा र बजार व्यवस्थापनमा सहयोग गरिने स्पष्ट पार्नुभयो।
कार्यक्रम जिल्ला लघु उद्यमी संघका अध्यक्ष दिपेन्द्र रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

















