हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीले हालको राष्ट्रिय अवस्था र स्थानीय समस्याहरूको गम्भीर समिक्षा गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामासमक्ष ज्ञापनपत्र बुझाएको छ।
पार्टीका केन्द्रीय समिति सल्लाहकार यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिव ध्रुव भुजेल, प्रदेश समिति सदस्य तथा नगर कमिटीका पदाधिकारीहरूको उपस्थितिमा पेश गरिएको सो ज्ञापनपत्रमा जनताको जीवनस्तरसँग गाँसिएका २६ बुँदे सुझावहरू समेटिएका छन्।
उक्त ज्ञापनपत्रमा स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापन, सडक विस्तार, लागुऔषध नियन्त्रण, युवा स्वरोजगार, आर्थिक पारदर्शिता तथा दिगो विकासजस्ता विषयमा नगरपालिकाको ध्यान केन्द्रित गरिनुपर्ने माग गरिएको छ। “एक व्यक्ति = एक अवसर = एक सीप” भन्ने कार्यक्रममार्फत सबै नागरिकलाई अवसर प्रदान गर्नुपर्ने सुझावसमेत पार्टीले अघि सारेको छ।
ज्ञापनपत्रमा भनिएको छ, “राजनीतिक नेतृत्वले जनताका आकांक्षा बुझ्न नसकेकाले आज मुलुक दिशाहीन बन्दै गएको छ। अब राजनीतिको केन्द्रबिन्दुमा सुशासन, पारदर्शिता, सेवा प्रवाह र रोजगारी सृजनालाई राख्नुपर्ने बेला आएको छ।”
साथै, संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारहरू, सामाजिक विविधता र आर्थिक आत्मनिर्भरताको आधारमा समृद्ध समाजवाद निर्माण गर्ने मार्ग अवलम्बन गर्न स्थानीय सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गरिएको छ।
पार्टीले जनताको अपेक्षा अनुसार विकास, रोजगारी र सेवा प्रवाह सुनिश्चित गर्न नगरपालिकाले तुरुन्त कार्य योजना ल्याउनु पर्ने चेतावनी समेत दिएको छ।

















