हेटौंडामा नक्कली नोट सहित एक व्यक्ति पक्राउ, रु. ९३ हजार बराबरको नक्कली नोट बरामद

Image

हेटौंडा/ मकवानपुरको हेटौंडाबाट नेपाली रूपैयाँ ५०० दरका नक्कली नोट १८६ थान सहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी हुन्।

२०८२ साल वैशाख २५ गते राति करिब १:१० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्गमा बर्दिबासबाट हेटौंडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सो झोलामा लुकाइ छिपाइ राखिएको अवस्थामा ५०० दरका १८६ थान नक्कली नोट फेला पारेको हो।

जम्मा रु. ९३,००० बराबरको नक्कली नोट सहित पक्राउ परेका अधिकारीमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।