हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–८ स्थित कमाने क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक पाँच वर्षीय बालक गम्भीर घाइते भएका छन्।
बिहीबार दिउँसो करिब १२:३० बजे चन्द्रोदय माध्यमिक विद्यालयको अगाडि रहेको भित्री सडकमा कमानेबाट हरियाली चोकतर्फ गइरहेको प्रदेश नम्बर ०२००९ प ४७२८ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते बालक सोही स्थानका निश्चल थापाका छोरा एलेस थापा हुन्। दुर्घटनापछि उनलाई तत्काल हेटौंडा अस्पताल पुर्याइएको थियो। अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र हालसम्म उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बालकको शरीरका विभिन्न भागमा चोट लागेका छन् र उपचार भइरहेकाले स्वास्थ्य अवस्थाबारे अझै स्पष्ट जानकारी आइसकेको छैन।