हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा हेटौंडा–१८ का विभिन्न टोल विकास संस्था तथा वडा समन्वय समितिका प्रतिनिधिहरूलाई लक्षित गरी तीनदिने “सामुदायिक नेतृत्व विकास र लेखा पारदर्शिता” सम्बन्धी तालिम सुरु गरिएको छ।
तालिम कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १८ का वडाध्यक्ष अनिल कुमार बाँनियाको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो।
प्रमुख अतिथि बाँनियाले स्थानीय स्तरमा सामाजिक रुपान्तरण, पूर्वाधार विस्तार र वातावरण संरक्षणका लागि टोल विकास संस्थाहरूको योगदान प्रशंसनीय रहेको बताए। उनले लेखा व्यवस्थापनमा पारदर्शिता र सक्षम नेतृत्व विकास संस्थागत सुदृढीकरणका लागि अत्यावश्यक रहेको उल्लेख गरे।
नगर समन्वय समितिका अध्यक्ष अधिकारीले टोल तहमै नेतृत्व सशक्तीकरण र उत्तरदायी लेखा प्रणालीमार्फत समुदायमा सामाजिक सचेतना फैलाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले सहभागिता र सहकार्यका माध्यमबाट समृद्ध टोल निर्माण सम्भव हुने विश्वास व्यक्त गरे।
तालिममा सामाजिक शाखा प्रमुख गंगा चौलागाई, समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरी दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरू, सदस्य लोकेन्द्र सुर्खेती तथा वडा समन्वय समितिकी अध्यक्ष बिमला बिसङ्खे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल ४० जना सहभागी छन्।