हेटौंडा आँखा अस्पतालमा सेनिटरी प्याड मेसिन स्थापना, महिलाहरूलाई सहज सुविधा

Image

हेटौंडा/  हेटौंडा सामुदायिक आँखा अस्पतालले महिला बिरामीहरूको सुविधाका लागि महिनावारी प्रयोजनको प्याड उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। अस्पताल परिसरमै प्याड भेन्डिङ मेसिन जडान भएपछि अब महिला बिरामीहरूले बजार धाउनुपर्ने अवस्था हट्नेछ।

यो पहल युक्ति फाउण्डेशन, काठमाडौँको सहकार्यमा सम्भव भएको हो। फाउण्डेशनकी प्रतिनिधि पेमा डोल्मा लामाले अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमुख डा. सुनिल थकालीलाई मेसिन हस्तान्तरण गरेकी हुन्।

संरक्षक श्रेष्ठले विहीबारदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्। उनका अनुसार, अस्पतालमा उपचारका लागि आउने महिलाहरूले अब सहज रूपमा सेनिटरी प्याड प्राप्त गर्न सक्नेछन्।

प्याडको आपूर्ति पञ्चसिद्धि फाउण्डेशनले गर्ने व्यवस्था मिलाइएको छ। फाउण्डेशनकी प्रतिनिधि लामाले विदेशमा यस्ता सुविधाहरू व्यापक रहेको उल्लेख गर्दै नेपालमा पनि महिलाहरूले महिनावारीको समयमा सामना गर्ने समस्यालाई कम गर्न यस्तो सहयोग अभियान अघि बढाइएको बताइन्। हेटौंडा आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गर्व महसुस गरिरहेको पनि उनले बताइन्।