हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित सिद्धार्थ ल क्याम्पसको पहिलो क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ। बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको प्रमुख आतिथ्य र क्याम्पस सञ्चालक समितिकी अध्यक्षसमेत रहेकी नगर प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सभामा अध्यक्ष लामाले आगामी वर्षको शैक्षिक योजना, नीतिहरू तथा कार्यक्रमहरूको प्रस्तुति गर्नुभएको थियो। उहाँले परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउँदै नतिजाको गुणात्मक विश्लेषण गरिने उल्लेख गर्नुभयो। साथै, अध्यापन प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग गर्दै, अनुभवी र योग्य प्राध्यापकहरूको नियुक्तिमा जोड दिइने जानकारी गराउनुभयो।
कक्षा शिक्षालाई जीवनोपयोगी बनाउन कानुन क्षेत्रका विज्ञ, पूर्व तथा बहालवाला न्यायाधीशहरूलाई ‘भिजिटिङ प्रोफेसर’ को रूपमा समावेश गरिने योजना प्रस्तुत गरिएको छ। विद्यार्थीको प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने तथा प्रशासनिक दक्षता वृद्धिका लागि तालिम र कार्यशालाको आयोजना गरिने पनि बताइएको छ।
क्याम्पसले विद्यार्थीहरूलाई मूट कोर्ट लगायतका प्रतियोगितामा भाग लिन प्रेरित गर्ने तथा वकालत र सार्वजनिक अभिव्यक्तिमा दक्षता विकास गर्ने कार्यक्रम पनि अघि सारेको छ।
हाल विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालन भइरहेकामा भविष्यमा छुट्टै स्थानमा क्याम्पस सञ्चालन गर्ने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो। साथै, क्याम्पसको दीर्घकालीन पञ्चवर्षीय योजना निर्माण गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि बाँनियाले लामो समयदेखि जिल्लामा कानून शिक्षा आवश्यक रहेको महसुस गरिँदै आएको र संघर्षपछिको प्रयासले सिद्धार्थ ल क्याम्पस स्थापना हुन सफल भएको उल्लेख गर्नुभयो। उहाँले बारा, पर्सा, रौतहट, सिन्धुली, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट विद्यार्थी आकर्षित हुने सम्भावना औँल्याउँदै, उपमहानगरलाई आर्थिक अवस्था कमजोर भएका १९ जना गरिब, जेहेन्दार र दलित विद्यार्थीका लागि निःशुल्क शिक्षा सुनिश्चित गर्न बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो।























