मदन–आश्रित स्मृति दिवस जेठ १–३ गतेसम्म विविध कार्यक्रमसहित मनाइने

Image

हेटौंडा /  मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

फाउन्डेसनका संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने, जिल्ला शाखा अध्यक्ष रघुनाथ खुलालले सभाध्यक्षको भूमिका निर्वाह गर्नुभयो।

उक्त अवसरमा विभिन्न अतिथिहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै फाउन्डेसनको सामाजिक, वैचारिक तथा राष्ट्रप्रेममा आधारित गतिविधिलाई अझ सशक्त रूपमा अघि बढाउन सुझाव दिएका थिए।

कार्यक्रम सम्पन्न भएसँगै बसेको कार्यसमितिको पहिलो बैठकले आगामी ३३औं मदन–आश्रित स्मृति दिवस जेठ १ देखि ३ गतेसम्म तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव कुमार केसीले जानकारी दिनुभयो।

निर्धारित कार्यक्रमहरू यस प्रकार छन्:
• जेठ १ गते — दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण
• जेठ २ गते — “गणतन्त्रमा जबज र समाजवाद” विषयक विचार गोष्ठी
• जेठ ३ गते — दिव्य बाल उद्यान, हेटौंडा–९ मा श्रद्धाञ्जली सभा
फाउन्डेसनले समाजमा सामाजिक सेवा, राष्ट्रप्रेम र वैचारिक स्पष्टताको माध्यमबाट युवालाई प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

यस स्मृति दिवसले फाउन्डेसनको भावी कार्यदिशा र सामाजिक भूमिका थप प्रस्ट बनाउँदै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।