हेटौंडा/ “सीप सिकौं, उद्यमी बनौं” भन्ने मूल नाराका साथ हेटौंडामा ३० दिने एड्भान्स ढाका बुनाइ तालिम र २१ दिने वारिष्टा सम्वन्धि तालिमको एकैसाथ मंगलबार उद्घाटन गरिएको छ।
यो तालिम जाल्पादेवी महिला उद्यमी केन्द्रको संयोजनमा, बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग तथा वाणिज्य निर्देशनालय र उद्योग वाणिज्य कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
उद्घाटन अवसरमा प्रमुख अतिथि लामाले करदाताहरूको योगदानबाट यस्ता तालिम सम्भव भएको उल्लेख गर्दै सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न प्रेरित गरे। उनले नेपालमै सीप प्रयोग गरी स्वरोजगार बन्न सकिने सम्भावनाहरू औंल्याउँदै युवा सहभागीहरूलाई मेहनत गर्न आग्रह गरे।
जाल्पादेवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीका अनुसार, ३० जना वरिष्ठ नागरिक र २० जना ढाका बुनाइ तालिमका सहभागी गरी कुल ५० जना प्रशिक्षणमा सहभागी छन्।
















