हेटौंडा/ हेटौँडा उपमहानगरपालिका–११ मा रहेको सहिद स्मारक नजिकको जङ्गलमा कुल पूजाको तयारीका लागि आगो बाल्ने क्रममा अरिङ्गालको झुण्डले आक्रमण गर्दा आठ जना घाइते भएका छन्।
घटनामा २२ वर्षीया शर्मिला गुरुङ, ७८ वर्षीया रनुमाया गुरुङ, ६१ वर्षीय क्षत्र बहादुर गुरुङ, ३४ वर्षीया अमिला गुरुङ, ३७ वर्षीया कविता गुरुङ, ६५ वर्षीया कृष्णमाया गुरुङ, ६४ वर्षीया सुन्तलीमाया गुरुङ र १९ वर्षीय सन्जोग गुरुङ घाइते भएका हुन्।
घाइतेहरूलाई तत्काल हेटौँडा अस्पतालमा भर्ना गरिएपछि सात जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ७८ वर्षीया रनुमाया गुरुङको अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर उपचार भइरहेको छ।
घटना सहिद स्मारक पार्क क्षेत्रभन्दा बाहिरको नजिकैको जङ्गलमा भएको जनाइएको छ। पूजाको क्रममा बालिएको आगोबाट अरिङ्गाल उत्तेजित भएको हुन सक्ने अनुमान छ।
स्थानिय प्रशासन र विपद् व्यवस्थापन टोलीले जङ्गली क्षेत्रको जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।


















